पोखरा, २१ चैत ।हिजोसम्म फेवाताल वा बेगनासतालमा मानिस डुबेर वेपत्ता हुँदा कहिले लाश तैरिन्छ भनेर कुर्नु पर्दथ्यो ? आफन्तहरु डुंगा लिएर तालवरपर घुरिरहन्थे । पैसा हुनुहरुले बंगलादेशदेखि बाहिरबाट गोताखोरहरु झिकाउथे र खोज्थे । यस्तै क्रममा दिनहरु बित्थ्यो र लाश स्वभाविक हिसाबले एउटा कुनामा मिल्किएको अवस्थामा विहानपख भेटिन्थ्यो ।
यस्तो अवस्थामा गुज्रिरहेको पोखरा आज परिवर्तन भएको छ । पर्यटकीय हिसाबले आकर्षणको केन्द्र मानिने फेवाताल र बेगनासतालमा मानिसहरु दुर्घटनामा प¥र्यो भने तत्कालै उद्धार गर्ने टोली सुरक्षा निकायले तयार पारिसकेको छ । तर ती सुरक्षाकर्मीहरुलाई अब कहाँ कसरी राख्ने ? भन्ने विषयमा योजना बन्न भने बाँकी छ ।
सबैभन्दा बढि फेवाताल र बेगनास तालमा पर्यटकहरु घुम्ने गर्दछन् । त्यसमा पनि फेवातालमा दैनिक सयौं पर्यटकहरु सयर गरिरहेका हुन्छन् । यस्तो अवस्थामा उद्धार टोलीलाई नजिकै राख्न सकिने हो र मोटरबोटको समेत तत्काल प्रयोग गर्ने हो भने अकालमा ज्यानबाट धेरै मानिसहरु बच्न सक्दथे ।
यसै सन्दर्भमा पोखरामा बुधबार बेगनास तालमा डुंगा पल्टिदा वेपत्ता भएकाहरुको उद्धारमा खटिएका सुरक्षाकर्मी, त्यहाँ पुगेका सुरक्षानिकायका उच्च प्रतिनिध र सुरक्षा निकायका तालिम प्राप्त गोताखोरहरुले देखाएको कार्यकुशलतालाई प्रशंसा गर्नैपर्छ । तर अझै पनि यो टिमलाई घटना हुने स्थल अर्थात ताल नजिकै राख्न सक्ने व्यवस्था राज्यले गर्ने हो भने धेरै राम्रो हुने थियो ।
बेगनासतालमा वेपत्ता भएका तीनजना मध्ये दुईजनाको शव उद्धार तथा खोजी टोलीले निकालेको छ । यस कार्यमा दिनभर सशस्त्र प्रहरी र जनपद प्रहरीका बंगलादेशबाट तालिम प्राप्त गरेका गोताखोरहरु खटिएका थिए । गोताखोरहरुले दिनभर खोजी कार्य जारी राख्दा दुईजनाको शव भेटियो भने एकजनाको अझै खोजी कार्य जारी रहेको सशस्त्र प्रहरी बल कालिका गणका गणपति शम्भु उप्रेतीले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी केदार रिजालका अनुसार आज दिउँसो १ बजे शुष्मा गुरुङ र दुई बजेर ४० मिनेट जाँदा पुष्पा गुरुङको शव भेटिएको थियो । अझै पनि २० वर्षीय प्रकाशग गुरुङको शव भने भेटिएको छैन । आज बेगनास तालमा सुरक्षा निकायका जवानहरुले देखाएको कौशल हेर्दा पोखरामा सुरक्षाका हिसाबले राम्रै सुधार भएको महसुस गर्न सकिने स्थानीयवासीहरुले बताएका थिए ।
आज गोताखोर टोलीले गरेको खोजी कार्यमा जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी यादवप्रसाद कोइराला स्वयम् बेगनास तालमा पुगी सुरक्षा निकायका प्रतिनिधिहरुको हौशला बढाउनुका साथै गोताखोरहरुले गरेको कार्यलाई प्रत्यक्ष अवलोकन गरेका थिए । पोखरामा पटक–पटक यस्ता घटनाहरु दोहोरिए पछि आज जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी कोइरालाको अध्यक्षतामा बसेको बैठकले केही उल्लेखनीय निर्णयहरु गरेको छ । बैठकमा सुरक्षा निकायका प्रमुखहरु, सरोकारवाला संघसंस्थाहरुका प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो ।
बैठकले फेवाताल र बेगनास तालमा डुंगाहरु सञ्चालन गर्दा एक डुंगामा अधिकतम् तीनसय केजी वा यात्रु संख्यामा नेपालीहरुको हकमा बढीमा ५ जना र विदेशीहरुको हकमा बढीमा ४ जना यात्रुहरु मात्र राखेर डुंगा सञ्चालन गर्न पाउने निर्णय गरिएको छ । त्यसैगरी फेवातालको बाराही मन्दिर दर्शनमा बढीमा १० जना यात्रुहरु राखेर डुंगा सञ्चालन गर्न पाईने निर्णय पनि भएको छ । डुंगाहरु बुक गर्ने अवस्थामा नै लाईफ ज्याकेटको अनिवार्य प्रयोग गरेर मात्र डुंगाा सञ्चालन गर्नुपर्ने निर्णय भएको छ ।
उल्लेखित डुंगा सञ्चालनको कार्यको नियमित अनुगमन स्थानीय प्रहरी प्रशासनले गर्नेछ । सो कार्यमा आवश्यक सहयोग डुंगा व्यवसायी समितीहरुले गर्नेछन् । अनुगमन गर्दा उल्लेख भए अनुसार गरे गराएको नपाईएमा पहिलो पटक एकहजार, दोस्रोपटक दुईहजार र तेस्रोपटक तीनहजार जरिबाना तोकिने छ । त्यसपछि चौथोंपटकमा डुंगा नै जफत गर्ने निर्णय समेत भएको छ ।
साभार् डन न्युज राष्ट्रिय दैनिक
No comments:
Post a Comment