लोकतन्त्रको संस्थागत विकासको लागि नागरिक समाजले खबरदारी गर्नुपर्नेमा जोड

पोखरा, ११ बैशाख ।
लोकतन्त्रको संस्थागत विकासको लागि नागरिक समाजले खबरदारी गर्नु पर्नेमा
बुधबार पोखरामा आयोजित एक अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले जोड दिएका
छन् । इन्सेक पश्चिमाञ्चल क्षेत्रीय कार्यालय पोखरा र शान्तिका लागि नागरिक
समाजको सञ्जालको आयोजनामा लोकतन्त्र, कानूनको शासन समस्या र समाधान विषयक
अन्तरक्रिया कार्यक्रममा बोल्दै उनीहरुले राजनीतिक दलहरुले दलीय स्वार्थ र
सत्तामोह त्यागेर जनताप्रति जवाफदेही बन्नु पर्नेमा जोड दिएका हुन् ।
कार्यक्रममा बोल्दै वरिष्ठ मानवअधिकारकर्मी टेकनाथ बरालले राजनीतिक
दलहरुको गल्तीले गर्दा लोकतन्त्रका मूल्य मान्यता भताभुङ्ग भएको उल्लेख
गर्दै नागरिक समाजले त्यसप्रति खबरदारी गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा लोकतन्त्र, कानूनको शासन, समस्या र समाधान विषयमा आधारपत्र
प्रस्तुत गर्दै वरिष्ठ अधिवक्ता रामप्रसाद घिमिरेले उत्तरदायी
जिम्मेवारीपूर्ण शासन व्यवस्थाको अभावले लोकतन्त्रको विकास हुन नसकेको
भन्दै स्वेच्छाचारी शक्तिको अत्य गरी सामाजिक न्याय, मौलिक अधिकारको
ग्यारेण्टी र मानवअधिकारको प्रत्याभूति गराउनु पर्नेमा जोड दिए ।
राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष शंकर बरालले १२ बुँदे सहमतिले
गर्दा नै संविधान जारी हुन नसकेको उल्लेख गर्दै जनतालाई सार्वभौम बनाउन
खोज्दा राष्ट्रियता विर्सिएकोले लोकतन्त्रको संस्थागत विकास हुन नसकेको
बताए । नेकपा–माओवादी क्षेत्र नम्बर ४ का इञ्चार्ज कमल बुढाले जनताको ठूलो
त्याग र बलिदानले प्राप्त लोकतन्त्रलाई शासन वर्गले नै संस्थागत विकास गर्न
नसकेको भन्दै गोलमेच सम्मेलनबाट मात्र समस्याको समाधान हुने बताए ।
राप्रपा नेपाल क्षेत्र नम्बर ४ का अध्यक्ष कृष्णराज अधिकारीले जनताले
प्रत्याभूत गर्न सक्ने लोकतन्त्र आउन नसकेको बताए ।
वरिष्ठ
अधिवक्ता तिलक आचार्यले १९ दिनसम्म आन्दोलन गरेर ल्याएको लोकतन्त्रलाई
संस्थागत गर्न नसक्दा संक्रमणकाल लम्बिएको भन्दै जनप्रतिनिधि सभाको
निर्वाचन गरी विशेषज्ञ सहितको टोलीले दुई महिनाभित्र संविधान जारी गर्न
सक्ने बताए । कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका खिमलाल सुवेदीले
राजनीतिक संरक्षणले गर्दा दण्डहीनता बढेको उल्लेख गर्दै जनताले लोकतन्त्रको
प्रत्याभूति गर्न नसकेको बताए । नागरिक समाजका अगुवा नवदत्त ढुङ्गानाले
राजनीतिक दलहरुले आफ्नो अनुकूल देश चलाउन खोज्दा संक्रमणकाल लम्बिएको र
दण्डहीनता मौलाएकोले लोकतन्त्र धरापमा परेको बताए ।
जिल्ला अदालत
बार एशोशिएसनका अध्यक्ष कमल अर्यालले लोकतन्त्रलाई संस्थागत विकास गर्न
राजनीतिक दलहरु क्रियाशील नभएको बताए । महिला मानवअधिकार रक्षक सञ्जालका
अध्यक्ष नन्दकला नेपालीले जनताले हर्ष, उमंगका साथ आन्दोलन गरेका स्थापना
गरेको लोकतन्त्र राजनीतिक दलहरुको सत्तामोह र स्वार्थले संस्थागत हुन
नसेकेको बताईन् । ,प्रेस चौतारीका अध्यक्ष श्याम कँुवरले संक्रमणकालको
अन्त्य गरी राजनीतिक स्थीरता कायम गर्नु पर्नेमा जोड दिए ।
सञ्जालका पूर्व संयोजकद्वय सुरेन्द थापामगरले राजनीतिक दलहरुले चुनाव पनि
गर्न नसक्ने, सहमतिमा प्रधानमन्त्री पनि बनाउन नसक्ने अवस्थामा
संविधानसभाको पुनःस्थापना नै समस्या समाधानको उत्तम विकल्प भएको बताए ।
स्थानीय शान्ति समितिका सचिवालय सदस्य खगराज आचार्यले छलकपट र निषेधको
राजनीतिले गर्दा लोकतन्त्र असफलतातिर धकेलिएको बताए ।
काहुराष्ट्रका सचिव वेदनाथ भण्डारीले लोकतन्त्रमा सामाजिक न्याय, समानता,
पारदर्शीता हुनु पर्ने बताए । मानवअधिकार संरक्षण मञ्चका सचिव शिव पौडेलले
राजनीतिक दलहरुले अलोकतान्त्रिक विचार र व्यवहारको अन्त्य गरी लोकतन्त्रको
संस्थागत विकासमा लाग्नु पर्नेमा जोड दिए ।
शान्तिका लागि नागरिक
समाजको सञ्जालका संयोजक विष्णु बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा
सदस्य इन्दिरा पौडेलले स्वागत मन्तव्य र इन्सेक पश्चिमाञ्चल संयोजक शिव
खकुरेलले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा मानवअधिकारकर्मी,
कानुन व्यवसायी, विभिन्न राजनीतिक दल, संघ–संस्थाका प्रतिनिधि, नागरिक
समाज, सञ्चारकर्मी गरी ३६ जनाको सहभागीता रहेको थियो ।
No comments:
Post a Comment